नाडा अटो शोमा गाडी मात्र होइन, गाडी चलाउने सम्पूर्ण इकोसिस्टम पनि देखिने
काठमाडौं । नेपालमा अटोमोबाइल प्रदर्शनीलाई गाडी हेर्ने र खरिद गर्ने थलोका रूपमा बुझिँदै आएकोमा यसपटकको नाडा अटो शोले त्यसको दायरा फराकिलो बनाउने भएको छ। भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ मा सवारीसाधनसँगै त्यसलाई लामो समयसम्म सञ्चालन गर्न आवश्यक पर्ने पार्टपुर्जा, सेवा, वित्तीय तथा प्रविधिसम्बन्धी सामग्रीसमेत प्रदर्शन गरिने भएको हो। करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्। कार्यक्रममा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन्।
