उच्च शिक्षा सुधारको प्रस्थानविन्दु
नेपालमा उच्च शिक्षा सुधारको बहस नयाँ होइन। विश्वविद्यालयको अवस्था बिग्रियो भन्ने चिन्ता पनि नयाँ होइन। समय—समयमा उपकुलपति नियुक्तिको मापदण्ड, राजनीतिक हस्तक्षेप, अपर्याप्त बजेट, कमजोर भौतिक पूर्वाधार, विद्यार्थी पलायन र शैक्षिक पात्रोको अनिश्चिततामाथि बहस भइरहन्छ। विश्वविद्यालय सुधारका नाममा आयोग बन्छन्, प्रतिवेदन तयार हुन्छन्, कार्यदल गठन गरिन्छन् र पदाधिकारी परिवर्तन गरिन्छन्। तर विश्वविद्यालयको वास्तविक जीवन जहाँ धडकनुपर्ने हो, सुधारको बहस त्यहाँ विरलै पुग्छ।
