नागरिकको आत्मदाहको वास्तविक अर्थ
कुनै नागरिकले आफ्नै शरीरमा आगो लगाउँदा केवल एउटा शरीर जल्दैन। त्यो आगोले राज्यको उत्तरदायित्व, लोकतन्त्रको नैतिकता र समाजको सामूहिक विवेकलाई पनि जलाइरहेको हुन्छ। शरीर केही घण्टामै खरानी बन्छ, तर त्यसले उठाएका प्रश्नहरू दशकौँसम्म इतिहासको पानामा धुवाँझैँ तैरिरहन्छन्।नेपालमा पछिल्ला वर्षहरूमा आत्मदाहका घटनाहरूले एउटा असहज प्रश्न बारम्बार उठाइरहेका छन्, हामी किन यस्तो समाज बन्दै गइरहेका छौँ, जहाँ केही नागरिकलाई आफ्ना पीडा सुनाउन जीवित रहनुभन्दा मरेर बोल्नु प्रभावकारी लाग्न थालेको छ ।
