कविता : मलाई म हुन देऊ
पुँजीवादको सबैभन्दा उर्वर भूमि महिलाको शरीर बनेको छ, यसले स्वतन्त्रताको भाषा बोल्छ, तर नियन्त्रणको राजनीति गर्छ, यसले रोजाइको अधिकारको नारा दिन्छ, तर रोजाइका आधारहरू आफैं निर्माण गर्छ, यसले सशक्तिकरणको सपना देखाउँछ, तर महिलालाई आफ्नै उत्पादनको उपभोक्ता र आफ्नै सौन्दर्यको कैदी बनाउँछ । आज महिलाको शरीर शरीर मात्र छैन ! यो बजार हो, यो विज्ञापन हो, यो ब्रान्ड हो, यो नाफाको स्रोत हो । आँखा, ओठ, छाला, दाँत, कपाल, तौल, रङ, उमेर ! महिलाको सम्पूर्ण अस्तित्वलाई टुक्र्याएर मूल्य निर्धारण गरिएको छ, हरेक असुरक्षालाई व्यापारमा रूपान्तरण गरिएको छ, हरेक आत्मविश्वासलाई उत्पादनसँग साटिएको छ, हरेक चाहनालाई उपभोगमा अनुवाद गरिएको छ ।
