कञ्चनपुरका किसानको पीडा : बाली जोगाउन दशकौंदेखि मचानको बास
कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ इमिलियाका टीकाराम रानाको पछिल्लो एक दशकदेखि मचानको बास भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्ती, निलगाई, चित्तल, बँदेल जस्ता जंगली जनावरले, खेतमा लगाएको बाली खाई दिने भएकाले उनी बाली जोगाउन भन्दै एक दशकदेखि मचानमा बस्दै आएका हुन् । जंगलको छेउमा घाँस दाउराका लागि सहज हुने भएकाले टीकाराम रानाका बाजे करिब सय वर्षअघि इमिलिया गाउँमा बसेको उनले बताए । सजिलोका लागि रोजेको नदीछेउको बसाई उनका लागि कष्टकर बन्दै गएको छ ।
