SHARE
Samata Press · बुधबार १० असार २०८३ ०६:२० PM · 1 मिनेट पढाइ

मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित ग्यालरी १०८ मा कलाकार कृष्णगोपाल श्रेष्ठका मौलिक कला र साधनादेखि आधुनिक शैलीको संयुक्त कलात्मक बान्कीले अहिले कला पारखीका ध्यान तानिरहेको छ । उनका कला सिर्जनाका विषयवस्तु सांस्कृतिक, पुरातात्विक र सम्पदा मानव समाजसँग जोडिएका छन् । यहाँ गाताचित्र, ग्रन्थचित्र र नेपालका परम्परागत कलालाई संयोजन गरिएको क्यान्भास झट्ट हेर्दा कोलाज झैँ लाग्ने चित्र देखिन्छ । उनका चित्रमा सातौँ/आठौँ सताब्दीदेखिका कलाको छायाँ छ । पुरातात्विक, सम्पदा, प्रकृति र जनजीवनका साथै संस्कृतिलाई क्यान्भासमा पस्किएका छन् । क्यान्भासका तल्लो भागमा मानवजगत् र मूर्तिलगायत कलात्मक अभिव्यक्ति पाइन्छ भने माथिल्लो भागमा दैवीशक्ति, आकास, बादलको संयोजन छ । श्रेष्ठले कला पारखीलाई एउटै क्यानभासमा कलामार्फत लिच्छीव र मल्लकालीन समयसम्म पुर्‍याएका छन्। यस्तै, पौराणिक कालका धार्मिक विषय, लोक, मिथक, विश्व, आकृति र प्रतिकात्मक विषयका साथै पुर्खाको सीप, चेतन/अवचेतनमनबाट निस्किने विषय समावेश गरेर उनका ‘आध्यविम्ब’ शीर्षकमा कला प्रदर्शनी जारी छ । कलाकार श्रेष्ठ भने, “आध्यविम्बमा नेपालका सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा सामाजिक विषयवस्तुलाई समकालीन दृष्टिकोणबाट प्रस्तुत गरेको छु, चित्रमा हिन्दू धर्म र बौद्धधर्मका महत्वपूर्ण ग्रन्थचित्र, पौभाचित्र, भित्तेचित्रसँग काष्ठकला, धातुकला र ढुङ्गाका मूर्ति समायोजन भएका छन् ।” उनका चित्रमा फरकफरक कला र सम्पदाले अन्तरक्रिया गरिरहेको नौलो प्रस्तुति देख्न पाइन्छ । कलाले कलासँग सम्बन्ध गास्दै आध्यात्मिक र धार्मिक कुरालाई संयोजन गरिएकाले उनका चित्र लोभलाग्दो छन् । साँखुका कलाकार कृष्णगोपाल श्रेष्ठले अनौपचारिक प्रदर्शनी गरे पनि उनको औपचारिक कला प्रदर्शनी यो पहिलो हो ।       सन् २०११ देखि निर्माण भएका चित्रहरु याँ देख्न पाइन्छ । उनले विद्यावारिधि अध्ययनका क्रममा ‘आध्यविम्ब’ शब्द थाहा पाएको बताए ।  उनका धार्मिक सांस्कृतिक काममा बढी रुचि बच्चादेखि नै थियो । त्यही धार्मिक, सम्पदा तथा संस्कृतिक शिलालेख चैत्यमा खेल्दै हुकिँदै यो कलायात्रामा आइपुगेका हुन् । कतिपय कलामा रञ्जना लिपिसमेत देखाएर उनले नेवारी सांस्कृतिक महत्वलाई झल्काएका छन् ।  उनले एउटा क्यान्भासमा विशालनगरबाट सङ्कलन गरेर हनुमानढोकामा राखिएको सातौँ÷आठौँ शताब्दीको चित्र पनि छ । त्यसमा आकास र बादललाई पृष्ठभूमि राखेर सुन्दर संयोजन गरेका छन् । उनले १७औँ अठारौँ शताब्दीको इन्द्रलाई पनि क्यान्भासमा उतारेका छन् ।       नेपालबाट हराइसकेको पौभाचित्र ‘इन्द्रको आदित्य आसन’लाई उनले सामाजिक सञ्जालबाट लिएर यहाँ प्रस्तुत गरेका छन् । त्यसमा उनले उपत्यकाको वसन्तपुर र आसपासका दृष्य जोडेर इन्द्रको चित्रलाई थप विस्तृत बनाएका छन् । उनले नेपालमा भएका भित्तेचित्र, ग्रन्थचित्र, पौभाचित्र, काष्ठकला र ढुङ्गा कला धातु कला र वास्तुकलाका फर्मलाई समावेश गरेका छन् । मल्लकालमा  नारायणलाई पनि उहाँले यही चित्रमा समावेश गरेर देखाएका छन् । नेपाली कलाकार जीवाराम तिब्ब्तमा बसेर काम गर्थे । उनले बनाएको कलालाई समावेश गरेर उनले अर्को कला कम्पोज गर्नुभएको छ । जलमानस अर्थात् जलमा बस्ने प्राणीहरु देखाएका छन् ।  कलाकार श्रेष्ठ भने, “नेपाली कला इतिहासमा पशुपन्छीले लोक कल्याणमा काम गर्दा मानव मुहार राखेर कला बनाउने चलन पुरानो हो । जस्तै गरुड पन्छी नै हो तर ह्युम्यान फिगर राखेर बनाइन्छ । नन्दी भृङ्गीलाई पनि त्यस्तै गरिन्छ मान्छेभन्दा माथि भगवान्भन्दा तल राखेर प्रस्तुत गरिन्छ । त्यसैलाई मैले यहाँ प्रस्तुत गरेको हुँ ।”अर्को बाहिरबाट फर्काएर ल्याई इतुंबहालमा सङ्ग्रहित कलालाई पनि उनले यहाँ राखेका छन् ।   उनका चित्रमा कीर्तिपुरमा रहेको चिलञ्चो विहार जगतपाल महाविहार, जुन इँटा र ढुङ्गाको कलाकृतिले युक्त प्राचीन बौद्ध विहार तथा चैत्यलाई पनि देख्न पाइन्छ । मूर्ति जस्तै अनुभूति दिनका लागि निकै मेहनत गरेर मसिना विषयवस्तुलाई उधिनेका छन् । मूर्ति नै महसुस गरिने क्यान्भासमा रङ र रेखाले प्रस्तुत गरेका छन् । यही कलामार्फत उनले शीर्षकलाई सार्थक बनाएका छन् । मुख्य कला चिलञ्चो विहार केन्द्रमा भए पनि अन्य कलालाई उनले संयोजन गरेका छन् । यसको माथि नेपालमा नभएको क्याम्ब्रिज सङ्ग्रहालयमा सङ्ग्रहित ११औँ सताब्दिको अष्ट प्रज्ञापारमीतालाई पनि उनले राखेका छन् । यो बौद्ध धर्मको सबैभन्दा पुरानो र आधारभूत ग्रन्थ हो । यसलाई आठवटा कोणमा विभाजन गरेर बुद्ध भगवान्लाई अरु भगवानसँग एउटै स्थानमा राखिएको छ । जसमा ब्रम्हा, महेश्वर, विष्णु, इन्द्र, बुद्ध भगवान् छन् । यहाँ शालिन मृगलाई प्रस्तुत गरिएको छ । वन्यजन्तु र प्रकृतिलाई पनि समावेश गरेमा छन्। रञ्जनालिपिलाई पनि प्रस्तुत गरेर फरकरुपमा कला संयोजन गरेको पाइन्छ । अर्को कलामा उनले अलौकिक पात्रलाई काल्पनिक रुपमा प्रस्तुत गरेका छन् । यो राष्ट्रिय सङ्ग्रहालयमा सङ्ग्रहित सातौँ शताब्दीको कला हो ।  अर्को तीनवटा चित्रहरु १४औँ शताब्दीको ‘पञ्चरक्षा’ प्रस्तुत गरेका छन् । अनिकाल नलाग्ने रोग नलाग्नका पुज्ने भगवान् हो पञ्चरक्षा । कलाकारले यसमा काठमाडौँ उपत्यको सम्पदा काठमाडौँ, भक्तपुर र ललितपुरका दरबार क्षेत्रको सम्पदासँग स्तूपालाई र महाविहार जोडेर फरक संयोजन गरेका छन् ।  साथमा साँखुमै रहेको श्री गणेशको मूर्तिलाई हेर्दा मूर्ति नै देखिने गरी क्यान्भासमा रङको संयोजन गरेका छनु् । यो उनको सबैभन्दा पुरानो चित्र हो । “यो मैले सन् २०११ मा बनाएको चित्र हो । यहाँ प्रदर्शन गरिएकामा सबैभन्दा पुरानो चित्र हो”, उनले खुलाए । बनेपामा रहेको चण्डेश्वरी मन्दिरमा रहेको मसान भैरवलाई ठूलो क्यान्भासमा उनले अर्को चित्र उतारेका छन् । त्यसको मुनि भजन गाउँदा नेवार समुदायले मान्ने भैरव कोरेका छन् । भैरव पनि फरकफरक हुन्छन् । भैरवका प्याटनलाई चित्र र मूर्तिको कस्तोकस्तो हुन्छ, आकोनिकग्राफीहरु कसरी प्रस्तुत हुन्छ भनेर पनि प्रस्तुत गरेका छन् ।  श्रेष्ठका उक्त कलाबारे कलाकार देवेन्द्र थुम्केली भन्छन्, “यो भैरवको चित्र विम्बात्मक रुपमा त्यतिबेलाको मोर्डन आर्ट हो, वास्तविक पनि छैन, टाउको देख्दा लोक स्वाद पाउन सकिन्छ, मूति नि छ, मान्छे पनि छ, प्रकृति पनि छ हेर्दा यथार्थपरक देखिन्छ, बादल पनि संयोजन भएकाले युरोपियन कला नियो क्लासिजियमको स्वाद पनि देखिन्छ ।” कला अवलोकनपछि कलाकार केशवराज खनाल भन्छन्, “कलाकारले रियलिष्टिक, पौराणिक र आध्यात्मिक र काठमाडौँको वास्तुकलालाई सुन्दर ढङ्गले संयोजन गरी प्रस्तुत गर्नुभएको छ, नयाँ पुराना कलाकारले हेर्नैपर्ने कला प्रदर्शनी हो ।”  ग्यालरी १०८ का सञ्चालक सुरज शाक्य फरकफरक कलालाई गाभेर एउटै क्यान्भासमा जोड्नुएको छ, पुरानो र नयाँसँग जोड्ने कला यहाँ प्रस्तुत भएको छ, यही फरकपनले प्रदर्शनी गर्न मन लागेको सुनाए ।  प्रा डा विष्णु दाहाल कला जीवनको आधार भएको बताउँदै उहाँको कलामा रङको संयोजनको नवीन रुप देखेको बताए ।