बालेन र सुधन गुरुङको सम्पत्तिमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पूर्वउपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेलको सम्पत्तिमाथि छानबिन हुनसक्ने हो भने प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलगायतको सम्पत्तिबारे पनि समान रूपमा छानबिन हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले छानबिनको मापदण्ड व्यक्ति, पार्टी वा राजनीतिक निकटताअनुसार फरक हुन नहुने बताएका हुन्। उनले जनताले कसैलाई दोषी वा निर्दोष घोषणा गर्न नभई सत्य तथ्य सार्वजनिक गर्न माग गरिरहेको उल्लेख गरेका छन्। बस्नेतले बालेन्द्र शाह, सुधन गुरुङलगायत सम्बन्धित सबै व्यक्तिको सम्पत्ति, आर्जनको स्रोत र छानबिनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।
