नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगितामा सँगिना-निशान्त प्रथम, प्रतिष्ठानकी अध्यक्ष मगरले भनिन्- ‘लोकदोहोरीको भविष्य उज्यालो छ’
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता-२०८३ मा प्रतिष्ठानको उपत्यका समन्वय समिति ‘ख’ का प्रतिनिधि सँगिना थापा मगर र निशान्त विक प्रथम स्थान हासिल गर्न सफल भएका छन् । नुवाकोटमा सम्पन्न प्रतियोगितामा देश तथा विदेशका विभिन्न प्रदेश र समन्वय समितिका प्रतिस्पर्धीलाई पछि पार्दै सँगिना-निशान्तको जोडीले उपाधि जितेको हो । लोकदोहोरी क्षेत्रमा लामो समयदेखि निरन्तर साधनारत निशान्त विकका लागि यो सफलता विशेष उपलब्धिका रूपमा हेरिएको छ । उपाधि जितेपछि निशान्त विकले सामाजिक सञ्जालमार्फत आफ्नो खुसी व्यक्त गर्दै यो सफलता सहज रूपमा प्राप्त नभएको बताएका छन् । उनले दोहोरी प्रतियोगितामा सहभागी हुँदै करिब ७५ वटा प्रतियोगिताको अनुभव बटुलेको उल्लेख गर्दै लामो सङ्घर्ष, अभ्यास र निरन्तरतापछि राष्ट्रिय रनिङ शिल्ड जित्ने सपना पूरा भएको बताए । उनका अनुसार पाँचौँ राष्ट्रिय रनिङ शिल्डबाट सुरु भएको उनको यात्रा क्रमशः उकालो लागेको थियो । पाँचौँ संस्करणमा सामान्य सहभागिता जनाएका उनले छैटौँ संस्करणमा उत्कृष्ट नवगायकको उपाधि जिते । त्यसपछि सातौँ संस्करणमा तृतीय, आठौँ संस्करणमा द्वितीय हुँदै नवौँ संस्करणमा आएर अन्ततः प्रथम स्थान हासिल गर्न सफल भए । निशान्तले रनिङ शिल्ड प्रतियोगितालाई लोकदोहोरी क्षेत्रको अत्यन्त प्रतिष्ठित मञ्चका रूपमा वर्णन गरेका छन् । विगतमा यो उपाधि सक्षम र स्थापित कलाकारले जित्दै आएको स्मरण गर्दै उनले यसको गरिमा जोगाइराख्ने जिम्मेवारी आफूले महसुस गरेको बताए । उपाधि जित्न सफल भएपछि उनले आफूलाई विश्वास गरेर प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेकोमा प्रतिष्ठान उपत्यका समन्वय समिति ‘ख’ का अध्यक्ष प्रसाद लामिछाने सहित सम्पूर्ण कार्यसमितिप्रति आभार व्यक्त गरेका छन् । त्यस्तै प्रतियोगिताका निर्णायक, सहभागी कलाकार, प्रतियोगिता अवधिभर हौसला र सहयोग गर्ने प्रतिष्ठानका विभिन्न समितिका पदाधिकारी तथा शुभेच्छुकप्रति पनि उनले धन्यवाद ज्ञापन गरेका छन् । नुवाकोट बसाइका क्रममा परिवारजस्तै साथ र सहयोग प्रदान गर्ने राजेन्द्र भण्डारी लगायत स्थानीय समुदायप्रति समेत उनले कृतज्ञता व्यक्त गरेका छन् । निशान्तले नेपाली लोकदोहोरी सङ्गीतलाई माया गर्ने सम्पूर्ण दर्शक, श्रोता तथा दोहोरी पारखीको निरन्तर माया र समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको बताएका छन् । यसैबिच, प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराएकोमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर सहित सम्पूर्ण केन्द्रीय कार्यसमितिप्रति पनि सहभागी कलाकारले धन्यवाद व्यक्त गरेका छन् । नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगितामा विजेताको सूची प्रथम : सँगिना थापा मगर / निशान्त विक-प्रतिष्ठान उपत्यका समन्वय समिति ‘ख’ द्वितीय : सरोज सिम्खडा / जमुना विश्वकर्मा-प्रतिष्ठान बागमती प्रदेश ‘क’ तृतीय : मानव रावत क्षेत्री / भावना अर्याल-प्रतिष्ठान मधेस प्रदेश ‘क’ सान्त्वना : राजमान खत्री / शान्ता वली-प्रतिष्ठान लुम्बिनी प्रदेश ‘ख’ नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगितामा विशेष विधातर्फका पुरस्कार उत्कृष्ट गायक : राजु लामिछाने-प्रतिष्ठान बागमती प्रदेश ‘ख’ उत्कृष्ट गायिका : जमुना सुनार-प्रतिष्ठान उपत्यका समन्वय समिति उत्कृष्ट नवगायक : विक्रम गहतराज-प्रतिष्ठान सुदूरपश्चिम प्रदेश उत्कृष्ट नवगायिका : शीतल कल्पना विक-प्रतिष्ठान कर्णाली प्रदेश अनुशासित गायक : बेलबहादुर परियार-प्रतिष्ठान मधेस प्रदेश ‘ख’ अनुशासित गायिका : शान्ति कार्की-प्रतिष्ठान चण्डी गढ उत्कृष्ट भेष भूषा (पुरुष) : प्रितम पोखरेल-प्रतिष्ठान युके उत्कृष्ट भेष भूषा (महिला) : सीता माझी-प्रतिष्ठान कोसी प्रदेश ‘क’ लोकदोहोरी क्षेत्रमा नयाँ पुस्ताका कलाकारलाई स्थापित गर्न महत्त्वपूर्ण मानिने राष्ट्रिय रनिङ शिल्ड प्रतियोगिताले यस वर्ष पनि प्रतिभा, सङ्घर्ष र निरन्तरताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । सँगिना थापा मगर र निशान्त विकको विजयलाई लोकदोहोरी सङ्गीतमा निरन्तर मेहनत गर्ने कलाकारको सफलताको प्रेरणादायी कथाका रूपमा हेरिएको छ । प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले भनिन्- ‘लोकदोहोरीको भविष्य उज्यालो छ’ यसैबिच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरले प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको जनाउँदै विजेता तथा सहभागी सबै कलाकारलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत दिएको प्रतिक्रियामा यस वर्षको रनिङ शिल्ड विजेता बनेका निशान्त विक र सँगिना थापा मगरलाई बधाई दिँदै उनीहरूको साङ्गीतिक भविष्य अझ उज्ज्वल बन्ने विश्वास व्यक्त गरेकी छन् । ध्यक्ष थापाले प्रतियोगिता सफल बनाउन योगदान पुर्याउने प्रतिष्ठानका संस्थापक, पूर्व अध्यक्ष, सल्लाहकार, प्रदेश तथा जिल्ला समितिका पदाधिकारी, विभिन्न देशस्थित शाखा, सहयोगी संस्था, प्रायोजक, पत्रकार, सुरक्षाकर्मी तथा नुवाकोटवासीप्रति विशेष आभार व्यक्त गरेकी छन् । उनले प्रतिष्ठानका सल्लाहकार उज्ज्वल जङ्ग ठकुरी, संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्ष प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा र बद्री पङ्गेनी लगायतका अग्रजको मार्गदर्शनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहज भएको उल्लेख गरेकी छन् । यस्तै प्रतिष्ठान बागमती प्रदेश, प्रतिष्ठान नुवाकोट, विदुर नगरपालिका, टोखा नगरपालिका, नुवाकोट उद्योग वाणिज्य सङ्घ, नुवाकोट निर्माण व्यवसायी सङ्घ, बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिका, पञ्चकन्या गाउँपालिका तथा विभिन्न सहयोगी संस्थाको भूमिकाको समेत उनले उच्च प्रशंसा गरेकी छन् ।
