सेफ सन्तोष शाहमाथि एकतर्फी धारणा नबनाउन कलाकार सिर्जना खत्रीको आग्रह
काठमाडौँ । कलाकार सिर्जना खत्री ‘हाउडे माया’ले सेफ सन्तोष साहसँग सम्बन्धित पछिल्लो घटनामा एकतर्फी धारणा नबनाउन आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो धारणा सार्वजनिक गर्दै उनको सङ्घर्ष, व्यक्तित्व र वर्तमान विवादका विषयमा आफ्नो दृष्टिकोण राखेकी हुन् । खत्रीले सिरहाको गाउँबाट नाङ्गो खुट्टा पाउरोटी बेच्ने बालकदेखि अन्तर्राष्ट्रिय स्तरको सेफ बन्न पुगेका सन्तोषको यात्रालाई सङ्घर्ष र प्रेरणाको कथा भएको उल्लेख गरेकी छन् । उनले लन्डनमा प्रतिष्ठित बिबिसी मास्टर सेफ प्रतियोगितामा नेपाली परिकारमार्फत अन्तर्राष्ट्रिय पहिचान बनाएको र त्यसपछि विदेशमै विभिन्न अवसर हुँदाहुँदै नेपाल फर्किएर मिथिला संस्कृति र खानालाई विश्वसामु चिनाउने अभियान थालेको खत्रीले बताएकी छन् । सन्तोषको सरल स्वभावबारे उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्व भए पनि उनी सामान्य जीवनशैलीमा रहने र सबैसँग सहज व्यवहार गर्ने व्यक्ति भएको दाबी गरेकी छन् । फेसबुक स्ट्याटसमा खत्रीले सन्तोष भावनामा बहकिएर सबैलाई विश्वास गर्ने स्वभावका कारण समस्यामा परेको उल्लेख गरेकी छन् । उनले सन्तोषसँग कारोबार गर्ने केही व्यक्तिले उनको नाम र लोकप्रियताको फाइदा उठाउन खोजेको आरोप लगाउँदै आर्थिक विवादमा पनि दुवै पक्षको कुरा सुन्न आवश्यक रहेको बताएकी छन् । खत्रीका अनुसार सन्तोषको नियत रकम नतिर्ने नभई सम्झौताअनुसार भुक्तानी गर्दै जाने रहेको थियो । तर पछिल्लो समय रकमको माग बढ्दै गएको, भ्याट बिल दिन अस्वीकार गरिएको तथा कम्पनीको खाताको सट्टा व्यक्तिगत खातामा रकम पठाउन दबाब दिइएको दाबी उनले गरेकी छन् । यस्तै, रेस्टुरेन्ट सञ्चालनका क्रममा घर भाडा सम्झौता समय अगावै अन्त्य गर्न दबाब दिइएको र बाँकी विषय अदालतमार्फत समाधान गर्ने तयारी भइरहेकै बेला उनलाई पक्राउ गरिएको उनको भनाइ छ । प्रहरीले शाहमाथि घोर अपराधीसरह व्यवहार गरेको आरोप लगाउँदै कलाकार खत्रीले कुनै व्यक्तिलाई कानुनी प्रक्रियाअघि नै सामाजिक र मिडियामार्फत दोषीका रूपमा चित्रित गर्नु उचित नहुने बताएकी छन् । ‘सबै कथाका दुई पक्ष हुन्छन् । हामी प्रायः एउटा पक्ष सुनेर धारणा बनाइहाल्छौँ । त्यसो गर्दा अर्को पक्षको पीडा र यथार्थ छुट्न सक्छ,’ उनले लेखेकी छन् । गायिका खत्रीले नेपालको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको अवस्थामा लगानीकर्ता र व्यवसायीलाई निरुत्साहित गर्ने वातावरण सिर्जना हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै सरकार, प्रहरी प्रशासन, सञ्चारमाध्यम र आम नागरिकले यस्ता विषयमा गम्भीर र जिम्मेवार ढङ्गले सोच्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।
