हिरासतमुक्तपछि सेफ सन्तोष साहको प्रश्न: यति सानो रकमको विवादमा सीआईबीले नै किन पक्राउ गर्यो ?
काठमाडौँ । चर्चित सेफ सन्तोष साहले आफ्नो पक्राउ प्रकरणलाई लिएर सार्वजनिक रूपमा धारणा राख्दै आफू विरुद्ध नियोजित रूपमा भ्रम फैलाइएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘‘सिला’ रेस्टुरेन्टदेखि ‘मिथिला थाली’ सञ्चालनसम्मको पृष्ठभूमि खुलाउँदै आफूले सम्झौताअनुसार नै भुक्तानी गर्दै आएको बताएका छन् । साहको सचिवालयले जारी गरेको वक्तव्यमा उनलाई हतारमा पक्राउ गरिएको भन्दै त्यसबाट उनको लामो समयदेखि आर्जन गरेको प्रतिष्ठा र सार्वजनिक छविमा गम्भीर असर परेको उल्लेख गरिएको छ । वक्तव्यमा यो कार्य उनको मानमर्दन गर्ने उद्देश्यले षड्यन्त्रपूर्वक गरिएको आरोपसमेत लगाइएको छ । साहले मिथिला समुदायको खानालाई प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो चरणमा जनकपुरमा ‘मिथिला थाली’ सञ्चालन गरेको र त्यसपछि काठमाडौँको गैरी धारामा पनि सोही नामको रेस्टुरेन्ट विस्तार गरेको बताएका छन् । उनका अनुसार उक्त स्थानमा यसअघि ‘आर्जव होल्डिङ्स प्रालि’ले ‘सिला’ नामक रेस्टुरेन्ट सञ्चालन गरिरहेको थियो । व्यवसाय सञ्चालनमा समस्या आएपछि त्यस रेस्टुरेन्टसँग सम्बन्धित सम्पत्ति दुई करोड २५ लाख रुपैयाँमा खरिद गरी ‘मिथिला थाली’ सञ्चालन गरिएको उनको दाबी छ । वक्तव्यअनुसार, खरिद प्रक्रियापछि मिथिला थालीले आर्जव होल्डिङ्सको तर्फबाट ४० लाख रुपैयाँ घर भाडा बक्यौता तथा दुई लाख ७७ हजार ९ सय ९७ रुपैयाँ विद्युत् महसुलसमेत सम्बन्धित निकायलाई भुक्तानी गरेको उल्लेख छ । साथै, आर्जव होल्डिङ्सले बैङ्कबाट लिएको ऋणको किस्ता र अन्य भुक्तानीमा समेत सहजीकरण गरिएको दाबी गरिएको छ । पछिल्लो समय चर्चामा आएको २५ लाख रुपैयाँको चेक प्रकरणबारे पनि साहले आफ्नो धारणा सार्वजनिक गरेका छन् । वक्तव्यमा कम्पनीका विभिन्न बैङ्क खातामा बैङ्किङ प्रणालीमार्फत २८ लाख २५ हजार रुपैयाँ भुक्तानी भइसकेको दाबी गरिएको छ । आर्जव होल्डिङ्सका प्रतिनिधिका रूपमा प्रस्तुत भएकी शकुन्तला थापाले व्यक्तिगत खातामा रकम माग गरे पनि सम्झौताअनुसार कम्पनीकै नाममा भुक्तानी गरिएको साहको भनाइ छ । त्यस्तै, सामान खरिदको भुक्तानी भइरहे पनि आर्जव होल्डिङ्सले आवश्यक बिल तथा कर चुक्ता कागजात उपलब्ध नगराएको आरोपसमेत वक्तव्यमा लगाइएको छ । पक्राउको विषयमा साहले आफू चार लाख ५० हजार रुपैयाँसम्बन्धी मुद्दामा पक्राउ परेको र उक्त विषयमा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत जाने तयारीमा रहेको बताएका छन् । उच्च अदालतमा जाने कानुनी समय बाँकी रहँदै आफूलाई पक्राउ गरिएको भन्दै उनले त्यसलाई षड्यन्त्रपूर्ण कदमको संज्ञा दिएका छन् । साहले आफू फरार नभएको दाबी गर्दै एक साताअघि नै भद्रकालीस्थित प्रहरी कार्यालय पुगेको उल्लेख गरेका छन् । यति सानो रकमको विवादमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली जनकपुर पुगेर पक्राउ गर्नुको कारण भविष्यमा खुल्ने विश्वाससमेत उनले व्यक्त गरेका छन् । सचिवालयका अनुसार साह अहिले हिरासतबाट मुक्त भइसकेका छन् भने रेस्टुरेन्ट खरिद तथा कारोबारसम्बन्धी विषयमा उनले थप जानकारी सञ्चारमाध्यममार्फत सार्वजनिक गर्ने तयारी गरेका छन् ।
