हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटका महत्त्वपूर्ण दस्तावेजहरू अध्ययनका लागि पर्याप्त समय नदिइएको बताइन् । संसद्मा हुने बजेट छलफल कर्मकाण्डी मात्र भएको टिप्पणी गर्दै उनले १८ वटा मन्त्रालयका विकास कार्यक्रमका पुस्तिकाहरू दुई दिनभित्रै अध्ययन गरेर खर्च कटौतीको प्रस्ताव तयार पार्न भनिनु अव्यवहारिक भएको उल्लेख गरिन् ।
