SHARE
Samata Press · मङगलबार २ असार २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

विश्वासपात्रदेखि सचिवालय सदस्यसम्मको बहिर्गमन: विप्लवलाई किन छोड्दै छन् निरन्तर प्रभावशाली नेता कार्यकर्ता ?

काठमाडौँ । आफूलाई नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा क्रान्तिकारी शक्ति दाबी गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा (माओवादी) पछिल्ला केही वर्षयता निरन्तर सङ्गठनात्मक सङ्कटबाट गुज्रिरहेको छ । एकपछि अर्को प्रभावशाली नेता, वैचारिक बहसमा सक्रिय क्याडर र नेतृत्व तहका व्यक्ति पार्टीबाट बाहिरिन थालेपछि पार्टीभित्रको अन्तर विरोध फेरि सार्वजनिक बहसको विषय बनेको छ । पछिल्लो घटनाक्रममा पार्टीकी सचिवालय सदस्य तथा संविधानसभा सदस्य उमा भुजेल ‘शिलु’ लाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको निर्णय सार्वजनिक भएपछि पार्टीभित्रको सङ्कट थप उजागर भएको छ । उमा भुजेललाई कारबाही गरिएको विप्लवद्वारा जारी विज्ञप्तिमा उनीमाथि ‘विचलनकारी, पलायनवादी गुटबन्दी’, ‘पार्टी कार्यदिशा र नेतृत्वविरुद्ध गतिविधि सञ्चालन’ गरेको आरोप लगाइएको छ । तर विज्ञप्ति सार्वजनिक भएको केही घण्टामै भिडियो सन्देशमार्फत भुजेलले ती आरोपलाई अस्वीकार गरिन् । उनले आफूले पार्टीभित्र केवल समीक्षा, आत्म समीक्षा, वाम एकता र मोर्चा बन्दीको आवश्यकता उठाएको दाबी गर्दै त्यसलाई पार्टी विरोधी गतिविधि भन्न नसकिने बताइन् ।