SHARE
Samata Press · सोमबार १ असार २०८३ ०९:३९ PM · 1 मिनेट पढाइ

विप्लवमाथि उमा भुजेलको प्रश्न: ‘समीक्षा, एकता र मोर्चाको कुरा गर्नु पार्टी विरोधी हो ?

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) की सचिवालय सदस्य उमा भुजेलले आफूलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्ने निर्णयप्रति असहमति जनाउँदै पार्टीभित्र समीक्षा, आत्मालोचना र कम्युनिस्ट एकताको आवश्यकता औँल्याएकी छन् ।  पार्टीले आफूलाई जिम्मेवारीमुक्त गरेको निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै लगाइएका आरोप असत्य र भ्रामक रहेको दाबी गरिन् । उनले पार्टीको सचिवालय बैठकमा स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको स्पष्ट पार्दै त्यसबारे पार्टी केन्द्रीय कार्यालयलाई पूर्व जानकारी गराइएको बताइन् । भुजेलले १४ वर्षअघि बाँकी रहेको क्रान्ति पूरा गर्ने, समाजवाद स्थापना गर्ने, जनताको सत्ता निर्माण गर्ने तथा सहिद र बेपत्ता योद्धाको सपना साकार पार्ने लक्ष्यसहित पार्टी निर्माण गरिएको स्मरण गराउँदै त्यस अवधिमा पार्टीले विभिन्न आन्दोलन, चुनावी प्रयोग, राष्ट्र घात र भ्रष्टाचारविरुद्धका अभियान तथा वैचारिक विकासका प्रयास गरेको उल्लेख गरिन् । तर, पछिल्ला वर्षमा सङ्गठन कमजोर बन्दै गएको, विचार र राजनीतिक प्रभाव घट्दै गएको तथा आन्दोलन र निर्वाचन दुवै क्षेत्रमा अपेक्षित परिणाम आउन नसकेको यथार्थ स्वीकार गर्दै उनले अब गम्भीर समीक्षा आवश्यक भएको बताइन् । ‘हामीले अरूलाई मात्र दोष दिएर हुँदैन, आफूतिर फर्किएर पनि समीक्षा गर्नुपर्छ । सङ्गठन किन कमजोर भयो, परिणाम किन आएनन् भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ,’ उनले भनिन् । भुजेलले पार्टीभित्र लामो समयदेखि समीक्षा, कम्युनिस्ट आन्दोलनको पुनर्गठन, वामपन्थी सक्तीबिच एकता र व्यापक मोर्चा बन्दीको आवश्यकता उठाउँदै आएको दाबी गरिन् । उनले देशमा वैदेशिक हस्तक्षेप बढिरहेको र राष्ट्रिय सङ्कट गहिरिँदै गएको विश्लेषण गर्दै देशभक्त, कम्युनिस्ट, वामपन्थी तथा लोकतान्त्रिक सक्तीबिच सहकार्य आवश्यक रहेको धारणा राखिन् । उनले महासचिव विप्लवले विगतमा आफैँ कम्युनिस्ट एकताको प्रस्ताव अघि सारेको स्मरण गराउँदै अहिले त्यही विषय उठाउँदा आफूलाई कारबाही गर्नु विरोधाभासपूर्ण भएको टिप्पणी गरिन् । ‘अहिलेको आवश्यकता एकता, सहकार्य र कम्युनिस्ट आन्दोलनको पुनर्गठन हो । कम्युनिस्ट आन्दोलन सङ्कटमा परेका बेला सबैले अहङ्कार त्यागेर साझा मोर्चामा आउनुपर्छ,’ भुजेलको भनाइ छ । पार्टीभित्र बहस, छलफल र फरक धारणा राख्नु लोकतान्त्रिक अधिकार भएको उल्लेख गर्दै उनले समीक्षा, एकता र मोर्चा बन्दीको प्रस्तावलाई पार्टी विरोधी वा क्रान्ति विरोधी भन्न नमिल्ने जिकिर गरिन् । भुजेलले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको दाबी गर्दै पार्टीभित्र देखिएका वैचारिक, राजनीतिक र सङ्गठनात्मक समस्याबारे खुला बहस हुनुपर्ने आवश्यकता औँल्याएकी छन् । साथै उनले नेकपा (माओवादी) मात्र होइन, समग्र कम्युनिस्ट आन्दोलनले वर्तमान अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएकी छन् ।