बागमतीको बजेट ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार
बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले उक्त बजेट सार्वजनिक गरेका हुन् । “समृद्ध बागमतीको अभियानः सुशासन, प्रविधि र उत्पादन” भन्ने मूल नीतिलाई कार्यान्वयन गर्दै उद्यमशीलतामार्फत स्वरोजगारी र रोजगारीको विकास गर्ने मन्त्री तामाङले बताए । चालूतर्फ २२ अरब ९६ करोड १९ लाख ३० हजार र पूँजीगत तर्फ ४३ अर्ब ९७ करोड १४ लाख तीन हजार विनियोजना गरिएको जानकारी मन्त्री तामाङले दिए । सरकारले खर्च ब्यहोर्ने स्रोतहरूको अनुमान गर्दै कर राजस्व ३० अर्ब १५ करोड छ लाख ६८ हजार, अन्य राजस्वतर्फ सात अर्ब ७३ करोड ९९ लाख १२ हजार तथा सङ्घीय वित्तीय हस्तान्तरण १५ अरब ३१ करोड ४८ लाख हुने उल्लेख गरेको छ । चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र विविध प्राप्ति रु १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार र अन्य संस्थाबाट ऋण लगानी फिर्ता रु ९६ करोड हुने बजेट वक्तव्यमा उल्लेख छ ।
