तेह्रथुममा विद्युतको सब-स्टेशन निर्माण ११ वर्षदेखि अलपत्र
काठमाडौँ। तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा विद्युत प्राधिकरणको सब-स्टेशन निर्माण ११ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। सब-स्टेशन नहुँदा यहाँका बासिन्दाले निरन्तर समस्या झेल्दै आएका छन्। उक्त सब-स्टेशन निर्माणका लागि ०७२ मै ठेक्का लागेको थियो। प्राधिकरणले सब-निर्माणको जिम्मा भारतीय कम्पनी ए टु जेटलाई दिएको थियो। तर ठेक्का लागेको ११ वर्षसम्म पनि काम भएको छ। सब-स्टेशन निर्माण नहुँदा विद्युत सेवा अनियमित हुने समस्या झेल्नुपरेको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए। उनले उक्त सब-स्टेशन निर्माणबारे प्राधिकरणका कार्यकारी निर्देशकलाई भेटेर ध्यानाकर्षण समेत गराइएको बताए। '२०७२ सालमा ठेक्का सम्झौता भई ठेक्का लागेको थियो। ३ वर्षभित्र सम्पन्न हुनुपर्ने सम्झौता हो। तर अहिलेसम्म बनेको छैन,' उनले भने, 'स्थानीय नागरिकहरूले निरन्तर समस्या झेल्दै आएका छन्।' सब-स्टेशन निर्माणका विषयमा अध्यक्ष पाहिम र पूर्वमन्त्री सीता गुरुङसहित नेताहरूले प्राधिकरणका कार्यकारी निर्देशकलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन्।
