SHARE
Samata Press · आइबार​ ३१ जेठ २०८३ ०३:०४ PM · 1 मिनेट पढाइ

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय प्रयोग आधारित ‘सर्कुलर इकोनोमी’ लाई प्रबर्द्धन हुने गरी महानगर क्षेत्रलाई ७ क्लस्टरमा विभाजन गरी प्रविधि प्रयोग मार्फत फोहोरमैलाको उचित व्यवस्थापन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम यो उल्लेख गरेको हो । ‘स्थानान्तरण केन्द्रबाट निष्कासित न्यून फोहोरलाई बन्चरेडाँडा ल्यान्डफिल साइटमा मेकानाइज्ड मेटरियल रिकभरी फ्यासिलिटी सञ्चालन गरी फोहोरको वैज्ञानिक व्यवस्थापन गरिने छ, काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक तथा खाली स्थानलाई बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री पार्कका रूपमा विकास तथा विस्तार गर्दै लगिने छ,’ नीति तथा कार्यक्रममा छ । ‘फोहोरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदूषकले तिर्ने सिद्धान्त अनुरूप एकद्वार प्रणाली मार्फत शुल्क संकलन गर्ने व्यवस्था मिलाइने घोषणा गरिएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोरमैला विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहोर परिमाण र प्रकृतिका आधारमा वित्तीय साझेदारी गर्न पहल गर्नेसमेत घोषणा गरिएको छ । फोहोरमैला व्यवस्थापनलाई अनलाइन एपका माध्यमबाट सूचना तथा विवरण महानगरपालिका सम्बद्ध कार्यालय, सेवाप्रदायक र सेवाग्राहीको पहुँचमा हुने विशेष प्रबन्ध मिलाउने, उचित प्रविधि प्रयोग गरी वायु, जल, जमिन, ध्वनि, दृष्य आदि प्रदूषण नियन्त्रण गर्ने, संघ, प्रदेश तथा अन्य स्थानीय सरकारसँगको समन्वय, सहकार्य र साझेदारीमा वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।