नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
काठमाडौँ । विभिन्न राजनीतिक दलनिकट दलित सङ्गठनको एकतापछि गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गतको नेपाल दलित मोर्चा घोषणा गरिएको छ । नेकपाका सहसंयोजक माधवकुमार नेपालको उपस्थितिमा काठमाडौँमा सुरु भएको एकता बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम् दलित तथा सीमान्तकृत अल्पसङ्ख्यक विभाग प्रमुख परशुराम रम्तेलले ५३३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका छन् । उनका अनुसार बैठकले एकीकृत भएका सङ्गठनका पदाधिकारीलाई समेटेर ६७ सदस्यीय सचिवालय समेत गठन गरेको छ । तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपालीलाई नवगठित नेपाल दलित मोर्चाको संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै, तत्कालीन नेकपा (एकीकृत समाजवादी) निकट दलित मुक्ति सङ्गठनका अध्यक्ष राम औतार पासवान सहसंयोजक चयन भएका छन् । संयोजक श्रीपाली दोस्रो संविधानसभा सदस्य तथा पूर्व मन्त्री हुन् भने सहसंयोजक पासवान पनि दोस्रो संविधानसभा सदस्य रहिसकेका छन् । श्रीपाली संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका संयोजक समेत हुन् । उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य थिए भने हाल नेकपाको केन्द्रीय सदस्यका रूपमा कार्यरत छन् ।
