धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर
बागमती । काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटाँैडा उपमहानगरपालिका–४ मा रहेको भुवनेश्वर महादेव मन्दिर क्षेत्रलाई यहाँको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा अघि बढाइएको छ । पशुपतिनाथ मन्दिरकै स्वरुपमा निर्माण गरिएको १० कठ्ठा सात धुर क्षेत्रफलको मन्दिर परिसरमा नवग्रहदेखि हनुमान, सरस्वतीलगायतका देवीदेवताका मूर्तिहरूसँगै अतिथि गृहसमेत छ । विसं २०४२ मा निर्माण गरिएको उक्त मन्दिरमा पशुपतिनाथको जस्तै पूजाविधि तथा परम्परा रहेको मन्दिरका पूजारी पवन घिमिरेले जानकारी दिए । उनका अनुसार मन्दिरमा दर्शनार्थीलाई पशुपतिमा जस्तै भित्र मूर्तिसम्म नपुगी मूल प्रवेशद्वार बाहिरबाट नै पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । मन्दिरमा सामान्य हरेक दिन नै भक्तजन आउने गरेको बताउँदै उनले शिवरात्री लगायतका विशेष तिथि र पर्वमा भने एकै दिनमा २० हजारभन्दा बढी भक्तजन आउने गरेको जानकारी दिए । भक्तजनको सुरक्षालाई दृष्टिगत गर्दै मूल मन्दिरको बरण्डामा दीप तथा धुप प्रज्वलन गर्ने विगतको व्यवस्थालाई परिवर्तन गरी मन्दिरको पश्चिम दक्षिण भागमा व्यवस्था मिलाइएको छ । विशेष पर्वका दिनमा भक्तजनको सुविधाका लागि मन्दिर प्रवेश गर्न पश्चिमद्वार र बहिर्गमनका लागि पूर्वीद्वार खुला राख्ने व्यवस्था मिलाइएको छ । अन्य दिनका हकमा भने पूर्वीद्वार आवश्यकताअनुसार मात्र खोल्ने गरिएको छ ।
