गलकोट समाज जापानटोकियो समितीद्वारा रसुवा बाढीपीडितका लागि ७ लाख रुपैयाँ सहयोग
तीज सांगीतिक उत्सवबाट ५ लाख र सहयोग अभियानमार्फत २ लाख रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप कोषमा पठाइयो दिनेश थापा, टोकियो गलकोट समाज जापान, टोकियो क्षेत्रीय समितिले रसुवा बाढीपीडितका लागि ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। समाजले तीज सांगीतिक उत्सव–२०२६ को टिकट बिक्रीबाट संकलित रकम र छुट्टै सहयोग अभियानमार्फत प्राप्त रकम जोडेर उक्त सहयोग उपलब्ध गराएको हो। समाजले पूर्वघोषणाअनुसार तीज सांगीतिक उत्सव–२०२६ को टिकट बिक्रीबाट ५ लाख रुपैयाँ संकलन गरेको थियो। त्यसैगरी, गलकोट समाज जापानले सञ्चालन गरेको सहयोग अभियानमार्फत थप २ लाख रुपैयाँ संकलन गरिएको थियो। दुवै स्रोतबाट प्राप्त कुल ७ लाख रुपैयाँ आधिकारिक रेमिट्यान्समार्फत प्रधानमन्त्री दैवी प्रकोप कोषमा पठाइएको समाजले जनाएको छ। गलकोट समाज जापान, टोकियो क्षेत्रीय समितिका अध्यक्ष ईश्वर बस्नेतका अनुसार प्रवासमा रहेर पनि मातृभूमिमा आइपर्ने विपत्ति र मानवीय संकटका बेला सहयोग गर्नु संस्थाको सामाजिक तथा मानवीय दायित्व हो। रसुवा जिल्लामा प्राकृतिक विपत्तिका कारण प्रभावित भएका परिवारलाई राहत पुर्याउने उद्देश्यले सहयोग रकम उपलब्ध गराइएको उनले बताए। अध्यक्ष बस्नेतले आगामी दिनमा पनि मातृभूमिमा आइपर्ने प्राकृतिक विपत्ति तथा अन्य सामाजिक आवश्यकतामा सहयोग गर्दै मानवीय सेवाका क्षेत्रमा संस्थाको सक्रियता निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। समाजका सचिव चतुर्भुज सापकोटाले तीज सांस्कृतिक कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले सांगीतिक उत्सव आयोजना गरिएको बताए। उनका अनुसार कार्यक्रममा सहभागी दर्शक, टिकट खरिद गर्ने व्यक्ति, कलाकार, सहयोगदाता तथा शुभेच्छुकहरूको योगदानका कारण विपत्तिमा परेका नेपालीलाई सहयोग गर्न सम्भव भएको हो। त्यसैगरी, समाजका कोषाध्यक्ष मिठु थापाले संकलित रकमलाई सामाजिक उत्तरदायित्वको भावनासहित बाढीपीडितको राहतका लागि उपयोग गरिएको जानकारी दिए। उनले सहयोग अभियानमा साथ दिने सम्पूर्ण व्यक्ति तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे। गलकोट समाज जापानले विगत लामो समयदेखि नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै सामाजिक र मानवीय सेवाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। यसपटकको तीज सांगीतिक उत्सवले सांस्कृतिक एकताको सन्देशसँगै विपत्तिमा परेका नेपालीलाई सहयोग गर्ने मानवीय भावनासमेत उजागर गरेको समाजले जनाएको छ। प्रवासमा रहेर पनि मातृभूमिप्रतिको जिम्मेवारी निर्वाह गर्दै गरिएको यस सहयोगले रसुवाका बाढीपीडित परिवारलाई राहत पुर्याउन योगदान गर्ने विश्वास टोकियो क्षेत्रीय समितिले जनाएको छ।
