मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । सबस्टेसनलाई कात्तिक १४ गते शनिवार र १५ गते आइतबार चार्ज गर्ने गरी काम अगाडि बढाइएको छ । उक्त दिनहरुमा पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुवही–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा लाइनलाई भित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) कार्य गरिने छ । दुहवी–दमक १३२ केभी प्रसारण लाइनबाट सबस्टेसनमा विद्युत आपूति हुनेछ । दुहवी–दमक प्रसारण लाइनलाई शनिबार र आइतबार विहान ४ बजेदेखि मध्यान्ह १२ बजेसम्म बन्द गरी लुप इन र लुप आउटको कार्य गरिनेछ । यसका कारण उक्त समयमा झापा, इलाम, पाँचथर ताप्लेजुङ जिल्लाका सम्पूर्ण भागहरु र मोरङको उर्लाबारी, पथरी आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ ।
