जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएका विपद्को जोखिम न्यूनीकरण गर्न अन्तरिक्ष प्रविधिको उपयोग, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउन आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (ईएससीएपी) र थाइल्यान्ड सरकारको संयुक्त आयोजनामा बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । सम्बोधनका क्रममा मन्त्री श्रेष्ठले नेपालमा हालै भएका हिमपहिरो तथा पहिरोजन्य विपद्ले जनधन, भौतिक पूर्वाधार र जलविद्युत् आयोजनामा गम्भीर क्षति पुर्याएको उल्लेख गर्दै विपद् व्यवस्थापनका लागि क्षेत्रीयस्तरमा सूचना आदानप्रदान र पूर्वसूचना प्रणाली सुदृढ गर्नुपर्ने बताए । उनले गत अगस्ट २६ मा लाङटाङ लिरुङ क्षेत्रमा चट्टान तथा हिमनदीको बरफ खस्दा भोटेकोशी र त्रिशूली नदीमा ठूलो बहाव उत्पन्न भएको तथा अक्टोबर ११ मा बूढीगण्डकी क्षेत्रमा पहिरोका कारण निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको जानकारी दिए ।
