SHARE
अर्थ संवाद · बुधबार १२ कात्िक २०८३ ०५:१८ PM · 1 मिनेट पढाइ

कोप ३१ मा सबै सरोकारवालाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौँ ः मन्त्री चौधरी

भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बसेको छ। बुधबार बसेको समितिको बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप ३१) र समितिको कार्यादेशअनुसार विषयविज्ञ छनोट गर्ने सम्बन्धमा छलफल भएको हो। छलफलका क्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले आगामी जलवायु सम्मेलन (कोप) मा समुदाय, नागरिक समाज, सांसदलगायत सबै सरोकारवालाको अर्थपूर्ण र समावेशी सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। मन्त्री चौधरीले मन्त्रालयले आगामी दिनमा गर्नुपर्ने कामलाई विशेष समितिसँग समन्वय गरेर अघि बढाउन सरकार सकारात्मक रहेको बताइन्। उनले भनिन्, ‘आगामी दिनमा मन्त्रालयले गर्नुपर्ने काम र यो विशेष समितिसँग कसरी जोडेर जान सकिन्छ भन्ने कुरामा हामी एकदम सकारात्मक छौँ। त्यसमा हामी सँगै जाने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।’ मन्त्री चौधरीका अनुसार आगामी कोपका लागि नेपालको स्थिति–पत्र (पोजिसन पेपर) तयार भइसकेको छ। उक्त स्थिति–पत्रका आधारमा जलवायु परिवर्तनका विषयलाई समुदायसँग जोड्दै समावेशी सहभागितामा जोड दिइने उनले बताइन्। उनले नागरिक समाजबाट सहभागी हुने प्रतिनिधिहरूलाई समेत समेटेर सबै पक्षको सहभागिता सुनिश्चित गर्ने तयारी भइरहेको जानकारी दिइन्। यसैगरी, भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले नेपालको आर्थिक क्षमता विकास नगरी जलवायु उत्थानशील पूर्वाधार निर्माण सम्भव नहुने बताएका छन्।  सभापति पराजुलीले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायसँगै व्यापार सहजीकरण, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच र व्यापार घाटा न्यूनीकरणका विषयलाई सशक्त रूपमा उठाउनुपर्ने बताए। उनले नेपालले आफ्नो आर्थिक हैसियत र उत्पादन क्षमता बढाउन नसकेसम्म जलवायु उत्थानशील पूर्वाधार निर्माणका लागि बाह्य सहयोगमा मात्र निर्भर हुनुपर्ने अवस्था रहने बताए।