वैदेशिक रोजगार ठगी : पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
काठमाडौँ । वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई पक्राउ पुर्जी जारी गरिएका व्यक्तिलाई कानुनी प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो । तोकिएको अवधिभित्र सम्पर्कमा नआए प्रचलित कानुनबमोजिम यात्रा अनुमति तथा बैंकिङ कारोबार रोक्कालगायत कारबाही अघि बढाइने सूचनामा उल्लेख छ । वैदेशिक रोजगारसम्बन्धी ठगी तथा अनियमितताबाट पीडितलाई न्याय दिलाउन र कानुनी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउन सूचना जारी गरिएको जनाइएको छ । वैदेशिक रोजगारका नाममा हुने झुटा आश्वासन, अनधिकृत रकम असुली, नक्कली मागपत्र तथा करारसम्बन्धी अनियमितताले श्रमिक र तिनका परिवारलाई आर्थिक तथा सामाजिक असर पार्ने गरेको छ । यस्ता गतिविधि नियन्त्रणका लागि उजुरीको शीघ्र सम्बोधन, अन्तरनिकाय समन्वय, नागरिक सचेतना र कानुनबमोजिम कारबाही आवश्यक रहेको औँल्याइएको छ ।
