युवाको सक्रिय सहभागिताबाट मात्रै लोकतन्त्र सुदृढ हुन्छ : विद्वान गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङले युवाको सक्रिय सहभागिताबाट मात्रै लोकतन्त्रलाई सुदृढ र राष्ट्र निर्माणको अभियानलाई प्रभावकारी बनाउन सकिने बताएका छन् । नेपाल तरुण दलको ७४औँ स्थापना दिवसका अवसरमा देश तथा विदेशमा रहेका तरुण युवालाई शुभकामना दिँदै उनले सुशासन, पारदर्शिता, रोजगारी, गुणस्तरीय शिक्षा, सामाजिक न्याय र अवसरको समानता सुनिश्चित गर्न युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताएका हुन् । ‘आजको तरुण पुस्ता भविष्यको कर्णधार मात्र होइन, वर्तमान परिवर्तनको संवाहक पनि हो,’ गुरुङले शुभकामना तथा ऐक्यबद्धताको सन्देशमा भनेका छन् । उनले नेपाल तरुण दलले लोकतान्त्रिक आन्दोलन, नागरिक स्वतन्त्रता, सामाजिक न्याय र राष्ट्रिय परिवर्तनका विभिन्न ऐतिहासिक चरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन् । लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहँदै अन्याय, विभेद तथा निरङ्कुशताविरुद्ध आवाज उठाउनु तरुण दलको गौरवपूर्ण इतिहास भएको उनको भनाइ छ । राजनीतिलाई पद प्राप्त गर्ने माध्यमका रूपमा मात्र नभई जनताको विश्वास जित्ने, समाजलाई सकारात्मक दिशामा अघि बढाउने र राष्ट्रप्रतिको जिम्मेवारी निर्वाह गर्ने अभियानका रूपमा बुझ्नुपर्ने गुरुङले बताएका छन् । उनले राजनीतिमा विचारको स्पष्टता, व्यवहारमा इमानदारी, नेतृत्वमा उत्तरदायित्व र सङ्गठनमा लोकतान्त्रिक संस्कार आवश्यक रहेको उल्लेख गरेका छन् । अग्रजहरूको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्ताको भावना, आकाङ्क्षा र क्षमतालाई नेतृत्वमा स्थापित गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । परिवर्तन नाराले मात्र सम्भव नहुने भन्दै त्यसका लागि साहस, सङ्कल्प, निरन्तर सङ्घर्ष र जनताप्रतिको इमानदार प्रतिबद्धता आवश्यक पर्ने उनको धारणा छ । देश तथा विदेशमा रहेका नेपाली युवालाई लोकतान्त्रिक उद्देश्यमा जोडेर समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा परिचालन गर्नुपर्ने उनले बताएका छन् । तरुण दलसँगको सम्बन्ध सङ्गठनात्मक जिम्मेवारीमा मात्र सीमित नभई आफ्नो राजनीतिक जीवन, सङ्घर्ष, सिकाइ र आत्मीयतासँग जोडिएको गुरुङले उल्लेख गरेका छन् । सङ्गठनमा आबद्ध रहँदा साथ, सहयोग, विश्वास र प्रेरणा दिने अग्रज, समकालीन तथा तरुण साथीहरूप्रति उनले आभार व्यक्त गरेका छन् । विगतका सपना, सङ्घर्ष र आदर्शलाई अझ सशक्त बनाउँदै सङ्गठनलाई समयानुकूल, गतिशील र युवामैत्री बनाउनु सबैको साझा दायित्व भएको उनको भनाइ छ । तरुण दललाई युवाको आवाजको सम्मान गर्ने, उनीहरूको क्षमतालाई अवसरमा रूपान्तरण गर्ने र सकारात्मक परिवर्तनको नेतृत्व गर्ने सङ्गठनका रूपमा थप सशक्त बनाउनुपर्नेमा गुरुङले जोड दिएका छन् । स्थापना दिवसले सङ्गठनभित्र नयाँ ऊर्जा, एकता, सहकार्य र लोकतान्त्रिक प्रतिबद्धता सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले युवाको सामर्थ्यलाई राष्ट्र निर्माणमा उपयोग गर्न आह्वान गरेका छन् ।
