दसैँमा देशभर एक हजार ३३९ सवारी दुर्घटना : १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
काठमाडौँ। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार असोज २५ देखि कात्तिक ८ गतेसम्म देशभर एक हजार ३३९ सवारी दुर्घटना भएका थिए । घाइतेमध्ये ४३७ जना गम्भीर र दुई हजार ५५१ जना सामान्य घाइते छन् । उक्त अवधिमा सबैभन्दा बढी कोशी प्रदेशमा ३९७ र सबैभन्दा कम मधेश प्रदेशमा ८० दुर्घटना भएका छन् । काठमाडौँ उपत्यकामा १७१, बागमतीमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिम प्रदेशमा १५० दुर्घटना भएका छन् । दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक हजार ५५२ मोटरसाइकल, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर, ६४ माइक्रोबस, ५४ बस, ३८ ट्याक्टर, १५ टिपर, १० डोजर, एक्स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन दुर्घटनामा संलग्न थिए । गत वर्ष दसैँको अवधिमा देशभर एक हजार ४९२ सवारी दुर्घटना भएका थिए । ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजारभन्दा बढी चालकमाथि कारबाही दसैँको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७०३ सवारीचालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ७९४, क्षमताभन्दा बढी यात्रु बोक्ने एक हजार ८८२ र तीव्र गतिमा सवारी चलाउने ७४६ चालक छन् । त्यस्तै, यान्त्रिक परीक्षणसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने ८८, सवारीको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८ र लागूपदार्थ सेवन गरी सवारी चलाउने ५३ चालकलाई कारबाही गरिएको छ । प्रवक्ता काफ्लेका अनुसार चाडपर्वमा लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले सुरक्षा र सहजताका लागि विशेष व्यवस्था गरिएको थियो । देशभर ४०८ यात्रु सहायता कक्ष प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना गरेको थियो । अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा पनि सहायता कक्ष स्थापना गरी यात्रुलाई आवश्यक सूचना र सहयोग उपलब्ध गराइएको प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न प्रविधिको प्रयोगबाट सवारी आवागमन व्यवस्थित बनाउने प्रयास गरिएको थियो । नजिकिँदै गरेका दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गरी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि विशेष योजना कार्यान्वयन भइरहेको प्रहरीले जनाएको छ ।
