औषधि पसलबाट लागुऔषधको कारोबार, सञ्चालक महिला पक्राउ
कास्की । पोखरामा औषधि पसलबाट लागुऔषध कारोबार गरेको आरोपमा प्रहरीले सञ्चालिकालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलकी सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गाना छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बुधबार लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले औषधि पसलमा जाँच गरेको थियो। त्यस क्रममा सञ्चालिकाका साथबाट चार प्रकारका लागुऔषधजन्य औषधि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ढुङ्गानाका साथबाट कोडिप–पी (कोडिन) छ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद गरिएको छ। ‘लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मारेका थियौँ। सोही क्रममा ठूलो परिमाणमा लागुऔषध फेला पर्यो। औषधि बिक्री तथा वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै लागुऔषधजन्य औषधि ठूलो परिमाणमा बरामद हुनुले औषधिको बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन प्रभावकारी हुनुपर्ने आवश्यकतालाई उजागर गरेको छ,’ पासवानले भने। पक्राउ परेकी सञ्चालिकामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाट लागुऔषध कारोबार हुने गरेको फेला परेको थियो। प्रहरीले त्यस्ता औषधि पसलका सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउने गरेको थियो।
