SHARE
Samata Press · आइबार​ ९ कात्िक २०८३ ०३:२० PM · 1 मिनेट पढाइ

विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको लिखित जवाफ, अब रास्वपाले के गर्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले सार्वजनिक भएको विवादित अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गर्दै पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ दिएका छन् । महिलासँगको कुराकानी रहेको भनिएको अडियो सार्वजनिक भएपछि आयोगले उनीसँग स्पष्टीकरण मागेको थियो । जवाफमा सुनारले आफूले कसैसँग त्यस्तो संवाद नगरेको दाबी गरेका छन् । अनुशासन आयोगका उपप्रमुख तथा छानबिन समितिका संयोजक अधिवक्ता हरिचन्द्र भट्टराईले सुनारको लिखित जवाफ प्राप्त भएको जानकारी दिए । उनका अनुसार सुनारले यसअघि सामाजिक सञ्जालमा व्यक्त गरेका दाबीलाई नै पत्रमा मुख्य रूपमा दोहोर्‍याएका छन् । अडियो सार्वजनिक भएपछि सुनारले कृत्रिम बुद्धिमत्ता (एआई)लगायत प्रविधि प्रयोग गरेर सामग्री बनाइएको दाबी गरेका थिए । प्रहरीमा भएको भ्रष्टाचारसम्बन्धी विषय उठाएपछि आफूमाथि निरन्तर प्रहार भइरहेको उनको जिकिर छ । यी दाबीको सत्यताबारे छानबिन समितिले निष्कर्ष दिइसकेको छैन । सम्पादनअघिको अडियो प्राप्त, अन्तर्वार्ताको रेकर्ड माग समितिले अडियो सार्वजनिक गर्ने जनआस्था पत्रिकाबाट सम्पादनअघिको अडियो प्राप्त गरेको छ । साथै, सम्बन्धित महिलाको भनिएको अन्तर्वार्ताको अडियो उपलब्ध गराउन न्युज २४ लाई पत्राचार गरेको छ । सुनारको लिखित इन्कार र महिलाको अन्तर्वार्तामा प्रस्तुत विवरणका कारण छानबिनमा केही जटिलता थपिएको समितिले जनाएको छ । समितिले स्वतन्त्र प्रमाण सङ्कलन र प्राप्त सामग्रीको सत्यापन अघि बढाएको छ । भट्टराईका अनुसार जनआस्थाबाट प्राप्त अडियोको पहिले आन्तरिक रूपमा सत्यापन गरिनेछ । त्यस क्रममा जटिलता देखिए प्राविधिक परीक्षणका लागि सम्बन्धित निकायलाई पत्राचार गरिने उनले बताए । प्राविधिक जाँचपछि सुनारसँग थप सोधपुछ गर्ने समितिको तयारी छ । छानबिन पूरा हुन लाग्ने समय प्राविधिक परीक्षणमा निर्भर रहने भट्टराईले स्पष्ट पारे । अन्य काम अघि बढिसकेको र परीक्षण सकिएपछि छिट्टै निष्कर्षमा पुग्ने प्रयास भइरहेको उनको भनाइ छ । औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन अडियो सार्वजनिक भएलगत्तै रास्वपाले सुनारमाथि आन्तरिक छानबिन गर्न अनुशासन आयोगलाई निर्देशन दिएको थियो । छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन पनि पार्टीले निर्देशन दिएको छ । अडियोको प्रामाणिकता र त्यससँग सम्बन्धित आरोपबारे समितिको अन्तिम निष्कर्ष आउन बाँकी छ ।