हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगरौं : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुराना नेताबीच सन्तुलन मिलाउन आग्रह गरेका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनको एजेन्डाका सन्दर्भमा भट्टराईले फेसबुकमार्फत युवालाई प्राथमिकता दिन र पार्टीभित्रको आन्तरिक सन्तुलन कायम गर्न आग्रह गरेका हुन् । उनले बाँकी केन्द्रीय सदस्य मनोनयन गर्दा ४० वर्षमुनिका युवालाई विशेष स्थान दिनुपर्ने, विगतमा छुटेका भूगोल र समुदायलाई समेट्नुपर्ने तथा पार्टीभित्रको आन्तरिक सन्तुलनलाई ध्यान दिनुपर्नेमा जोड दिएका छन् छन् । ‘बाँकी केन्द्रीय सदस्यको मनोनयनमा ४० वर्षमुनिका युवाहरूलाई विशेष स्थान दिने र बिगतमा छुटेका भूगोल र समुदाय तथा आन्तरिक सन्तुलनलाई ख्याल गरी मनोनयन गर्ने,’ उपमहासचिव भट्टराईले लेखेका छन्, ‘स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा पुराना र नयाँको सन्तुलन मिलाउने ।’ आसन्न निर्वाचनसहितका अन्य चुनौतीको सामना गर्न पार्टीको आन्तरिक एकता पहिलो शर्त हुने भन्दै उनले पार्टी एकतालाई खण्डित गर्ने कुनै पनि निर्णय ‘हतारमा निर्णय र फुर्सदमा पछुताउनु’ सरह हुने उल्लेख गरेका छन् । ‘त्यो अवस्थामा केन्द्रीय कमिटीको मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठनको एजेण्डा केन्द्रीय कमिटीको आगामी बैठकबाट निर्णय गर्नु उपयुक्त हुनेछ,’ भट्टराईले भनेका छन् । उनले मुलुकको राजनीतिक परिस्थिति गम्भीर र पेचिलो बन्दै गएको उल्लेख गर्दै लोकतन्त्र र संविधानको रक्षा राष्ट्रिय प्रश्न बनिरहेको बताएका छन् । यस्तो अवस्थामा प्रमुख राजनीतिक दलहरूले आफूलाई रूपान्तरण गर्दै बलियो एकता निर्माण गरेर राष्ट्रिय जिम्मेवारी पूरा गर्न अग्रसर हुनुपर्ने उनको भनाइ छ । असोजको पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकमा पनि आफूहरूले यी विषय उठाएको स्मरण गराउँदै उनले त्यसबेला ४० वर्षमुनिका युवालाई केन्द्रीय सदस्यमा प्राथमिकता दिनुपर्ने तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुरानाको मिश्रणसहित स्पष्ट मापदण्ड बनाउनुपर्ने धारणा राखिएको बताएका छन् । तर, त्यसबेलाको निर्णयले आफूहरूले उठाएको भावनालाई समेट्न नसकेको भन्दै उनले सकारात्मक ऊर्जा पैदा हुन नसकेको टिप्पणी गरेका छन् ।
