SHARE
Samata Press · बुधबार १० मंिर २०८३ १०:०४ PM · 1 मिनेट पढाइ

लैङ्गिक हिंसाविरुद्ध नेपाल मेगा कलेजमा छलफल : पीडितका सुरक्षित, समावेशी र सहयोगी वातावरण सिर्जना गर्नुपर्नेमा जोड

काठमाडौँ। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत नेपाल मेगा कलेजले सचेतनामूलक वृत्त छलफल कार्यक्रम गरेको छ। कलेजको सामाजिक कार्य (बीएसडब्ल्यू) स्नातक तहका विद्यार्थीहरूको सहभागितामा आयोजित कार्यक्रममा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिका अनुभव, हिंसाका मनोसामाजिक प्रभाव तथा मनोवैज्ञानिक परामर्श र भावनात्मक सहयोगको महत्त्वबारे छलफल गरिएको थियो। कार्यक्रममा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिका अनुभव र समस्या खुला रूपमा व्यक्त गर्न सुरक्षित, समावेशी तथा सहयोगी वातावरण निर्माण गर्ने उद्देश्य राखिएको थियो। छलफलका क्रममा विद्यार्थीहरूले लैङ्गिक हिंसाका विभिन्न स्वरूप, यसले व्यक्ति, परिवार तथा समाजमा पार्ने प्रभाव र प्रभावित व्यक्तिले भोग्नुपर्ने मानसिक तथा भावनात्मक चुनौतीबारे विचार आदानप्रदान गरेका थिए। विशेषगरी हिंसाका कारण उत्पन्न हुने मानसिक आघात, डर, चिन्ता, सामाजिक एक्लोपन तथा आत्मविश्वासमा पर्ने असरबारे चर्चा गरिएको सामाजिक कार्य विभागकी प्रमुख सुनिता बिसुन्कीले जानकारी दिइन्।  उनका अनुसार हिंसाबाट प्रभावित व्यक्तिलाई सहानुभूतिपूर्ण व्यवहार, भावनात्मक सहयोग र व्यावसायिक मनोवैज्ञानिक परामर्श उपलब्ध गराउनुपर्ने आवश्यकतामा पनि जोड दिइएको थियो। कार्यक्रमले विद्यार्थीमा सहानुभूति, सक्रिय श्रवण, आपसी सम्मान, ऐक्यबद्धता र सामूहिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुर्‍याएको कलेजले जनाएको छ। लैङ्गिक हिंसाविरुद्ध आवाज उठाउने, हानिकारक सामाजिक मान्यतालाई चुनौती दिने तथा लैङ्गिक समानता प्रवर्द्धन गर्ने कार्यमा युवा पुस्ता र भावी सामाजिक कार्यकर्ताको भूमिका महत्त्वपूर्ण रहेको विषयसमेत छलफलमा उठाइएको थियो। कार्यक्रममार्फत कलेजले लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि, युवाको सशक्तीकरण तथा मर्यादा, समानता, सुरक्षा र सम्मानमा आधारित समाज निर्माणप्रतिको प्रतिबद्धता व्यक्त गरेको छ। हिंसामुक्त समाज निर्माण अभियानमा मात्र सीमित नभई सबैको साझा जिम्मेवारी भएकाले त्यसका लागि सचेतना, ऐक्यबद्धता र निरन्तर सामूहिक प्रयास आवश्यक रहेको सन्देश कार्यक्रमले दिएको छ।