माटोमा अडेको सास
धेरै समयपछि गाउँ जाने साइत जुरेको थियो । मनमा अनेकौं सम्झना बोकेर म गाउँतिर लागेँ । त्यही गाउँ, जहाँ मेरो बाल्यकालका स्मृतिहरू छरिएका थिए । जहाँ बिहान चराको चिरबिरसँगै मान्छेका आवाज मिसिन्थे, खेतका आलीमा हिँड्दा छिमेकीसँग भेट हुन्थ्यो र साँझपख गाउँका चौतारीहरू गफगाफले भरिन्थे । तर यसपटक गाउँ पुग्दा मलाई आफ्नै गाउँ बिरानो लाग्यो । गाउँ पस्ने पुरानो गोरेटो उस्तै थियो, तर त्यसमा हिँड्ने पाइला हराएका थिए । कुनै समय बालबालिकाको हल्लाले गुञ्जिने आँगनहरू सुनसान थिए । घरका झ्यालढोका बन्द थिए ।