त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न चीनसँग पनि सहयोग मागिंदै

 काठमाडौँ - चितवनको सिमलताल पहिरोले त्रिशूली नदीमा बेपत्ता बनाएको बस र यात्रु खोजी गर्नका लागि सरकारले चीनसँग पनि सहयोग माग्ने तयारी गरेको छ । असार २८ गते साढे ३ बजे भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट खसेको दुई वटा बस र त्यसमा सवार थप यात्रुको खोजी गर्न गृह मन्त्रालयले पहल थालेको हो ।

गृह मन्त्रालयको विपद तथा द्वन्द्व व्यवस्थापनका प्रमुख एवं सहसचिव भीष्मकुमार भुसालका अनुसार यसबारेमा अनौपचारिक छलफल सुरू भएको हो । यद्यपि यसबारे निर्णय भइनसकेको उनले बताएका छन् । यसअघि सरकारले भारतसँग पनि उद्धार तथा खोजीका लागि सहयोग मागेको थियो । साउन ५ गते भारतबाट १२ जनाको भारतको राष्ट्रिय आपदा मोचन दलको टोली आएको थियो ।

यो टोलीले सोनार क्यामेरा, चुम्बक लगायतको प्रयोग गरी खोजी गरेको थियो।  तर कुनै प्रगति भने हुन नसकेपछि उक्त टोली साउन १३ गते फर्किएको थियो । अहिलेसम्म नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको छ । अहिलेसम्म १९ जनाको मात्रै शव पहिचान भएको छ ।