मनसुन सक्रिय हुँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान  रोपाइँ विस्तार

काठमाडौँ - मनसुन सक्रिय हुँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान  रोपाइँ विस्तार भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२ दशमलव ४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । 

जबकि गत वर्ष यही अवधिसम्म जम्मा ७८ दशमलव १ प्रतिशत रोपाइँसम्म भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार यस वर्ष १२ लाख ९२ हजार दुई सय २१ दशमलव ६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभर धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार दुई सय ७३ रहेको छ ।

यस वर्ष कोशी प्रदेशमा ९० दशमलव ७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।  कोशीमा दुई लाख ५० हजार ६ सय २४ दशमलव ७७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । कोशी प्रदेशमा दुई लाख ७६ हजार ३ सय ८६ दशमलव ७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने मन्त्रालयको तथ्याङ्क रहेको छ । यस प्रदेशमा गत वर्ष ८३ दशमलव ३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको थियो । मधेस प्रदेशमा गत वर्ष ५८ दशमलव ८ प्रतिशत मात्रै रोपाइँ भएकामा यस वर्ष हालसम्म ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

बागमती प्रदेशमा पनि रोपाइँको अवस्था बढेको तथ्याङ्कले देखाएको छ । यस प्रदेशमा अघिल्लो वर्ष ८० दशमलव १ प्रतिशत रोपाइँ भएकामा यस वर्ष बढेर ९० दशमलव ८ प्रतिशत पुगेको छ । गण्डकी प्रदेशमा गत वर्ष ८२ दशमलव ३ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९१ दशमलव ९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा गत वर्ष ८० दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९१ दशमलव ३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । 

यसैगरी कर्णाली प्रदेशमा गत वर्ष ८५ प्रतिशत मात्रै रोपाइँ भएकामा यस वर्ष ९६ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिममा गत वर्ष यही अवधिमा ९९ दशमलव २ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९९ दशमलव ३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।