सेप्टिक ट्यांकभित्र निस्सासिएर बेहोस भएका तीन जनाको मृत्यु

काठमाडौँ । नवलपुरको विनयी गाउँपालिका– ७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्यांकमा निसास्सिएर तीनजनाको निधन भएको छ। निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्यांकभित्र काम गर्ने क्रममा तीनजनाको निधन भएको हो।

मृत्यु हुनेमा सोही घरका घरधनीका छोरा ३८ वर्षीय छोरा प्रकाशसिंह क्षेत्री, छिमेकी १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ७ का २८ वर्षीय मोहम्द राजा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए ।

बेहोस भएपछि अस्पताल लगिएको र अस्पतालले नै मृत घोषणा गरेको उनले बताए।

‘सेप्टिक ट्यांक बनाउने काम चलिरहेको रहेछ। सोही क्रममा काम गर्न भित्र छिरेका मान्छेहरू निस्सासिएर बेहोस भएका रहेछन्,’ रेग्मीले भने, ‘उनीहरू भित्रै बेहोस भएर ढले। अस्पताल पुर्‍याएको थियो। अस्पतालले मृत घोषणा गरेको हो।’

प्रकाशको परासीस्थित जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा, बोगटी र मोहम्मद राजाको भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ।