माओवादीले फिर्ता लियो कोसी सरकारलाई दिएको समर्थन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्री हिक्मत कार्कीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए ।

शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको हो । समर्थन फिर्ता लिएको बेहोराको पत्र  प्रदेशसभा सचिवालयमा दर्ता गरिएको माओवादी केन्द्रले जनाएको छ ।
 
नेपाली कांग्रेसका केदार कार्की नेतृत्वको सरकारलाई विस्थापन गरी गत वैशाख २७ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । उनले जेठ १ विश्वासको मत लिएका थिए ‌।

एमालेका कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका थिए । केन्द्रमा एमाले–कांग्रेस गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएको हो ।