सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट  

काठमाडौँ । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा पुनः रिजेक्ट भएको छ ।

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जानको लागि उनले भिसाको लागि दूतावासमा आवेदन दिएका थिए ।

उनले दिएको आवेदन दूतावासले यही जेठ ९ गते अस्वीकार गरेको थियो । तर, भिसा ‘रिजेक्ट’ भएपछि दूतावासमाथि दबाब दिन उनले बारम्बार परराष्ट्रमन्त्रीदेखि मन्त्रालयका कर्मचारीलाई फोन गर्ने गरेका थिए ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।

यसअघि सन् २०१९ अगष्टमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यतिबेला उनले अमेरिकाले भिसा नदिएको कुरा सामाजिक सञ्जालमा राखेपछि अमेरिकी दूतावासले उनलाई पुनः बोलाइ भिसा दिएको थियो ।