दिल्लीमा ५२ दशमलव ३ डिग्री सेल्सियसको पुग्यो तापक्रम, अहिलेसम्मकै उच्च तापक्रम मापन  

एजेन्सी । भारतको राजधानी दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ । यो अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम हो ।

क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवकाअनुसार स्वचालित मौसम केन्द्रमा उत्तर पश्चिमी दिल्लीको मुङ्गेशपुर क्षेत्रमा ५२ दशमलव तीन डिग्री सेल्सियस रेकर्ड गरिएको बीबीसीले जनाएको छ ।

भारत मौसम विज्ञान विभाग (आइएमडी) ले आज पनि हिजो जस्तै दिल्लीलगायत देशको उत्तरी भागका धेरै राज्यमा गर्मीको लहर (लू) को चेतावनी जारी गरेको छ ।

आइएमडीकाअनुसार पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थानका धेरै भाग, उत्तर प्रदेश, पूर्वी मध्य प्रदेश, पश्चिम मध्य प्रदेशका केही भाग, बिहार, झारखण्ड, उडिसा र जम्मु डिभिजनका फरक फरक भागमा लु चल्ने सम्भावना छ ।