लोकदोहोरी गायक बालचन्द्र बराललाई प्रतिष्ठानले गर्यो निलम्बन

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक बालचन्द्र बराललाई ६ महिनाको लागि संस्थाबाट निलम्बन गरेको छ ।

प्रतिष्ठानको केन्द्रीय सदस्य समेत रहेका बराललाई बिहीबार बसेको कार्यसमिति बैठकले निलम्बन गरेको अध्यक्ष रीता थापा मगरले जानकारी दिइन् ।

लोक संस्कृतिको मूल मर्म र भावना विपरीत कार्य गरेको  र लाइभ दोहोरीका नाममा बराल अमर्यादित ढंगले प्रस्तुत भएको प्रतिष्ठानको भनाइ छ ।

निलम्बन हुने ६ महिनाको अवधिमा बरालले प्रतिष्ठानसँग सम्बन्धित जिल्ला, प्रदेश, केन्द्रसहितका सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा सहभागी हुन पाउने छैनन् ।

ध्यक्षसहित प्रतिष्ठानका पदाधिकारीले बिहीबार अपरान्ह गृह मन्त्रालयमा पुगेर समाचमा अपाच्य हुने खालका गतिविधिमा रोक लगाउनको लागि भन्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

यसका लागि कानुन व्यवसायीसँग पनि परामर्श भइरहेको अध्यक्ष मगरको भनाइ छ । प्रतिष्ठानले गत साता विज्ञप्तिमार्फत लाइभ दोहोरीको नाममा छाडा रुपमा प्रस्तुत नहुन सचेत गरेको थियो ।