उपनिर्वाचनले एमाले जनताको भरपर्दो शक्ति भएको सन्देश दियो : विष्णु रिमाल

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनले आफ्नो पार्टी नेपाली जनताको सबैभन्दा भरपर्दो शक्ति भएको सन्देश दिएको बताएका छन्।

उनले मंगलबार अपरान्ह पार्टी मुख्यालय च्यासलमा संञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

कोशी प्रदेशको नामाकरण गलत भन्नेहरू, त्यस सन्दर्भमा चपाएर बोल्नेहरू उपनिर्वाचनमा हारेको र कोशी प्रदेश नामाकरण ठिक छ भन्ने एमालेको एजेण्डालाई उपनिर्वाचनमार्फत जनताले अनुमोदन गरेको उनको भनाइ थियो । 

उपमहासचिव रिमालले उपनिर्वाचनको मत परिणाम सहज र उत्साहजनक रुपमा आएको उल्लेख गर्दै एमालेले भन्दै आएको एजेण्डाको आधारमा दलहरूलाई जनताले चुन्न पाउनुपर्छ भन्ने अडान पनि उपनिर्वाचनले सही छ भन्ने सन्देश दिएको जिकिर गरे।

उनले उपनिर्वाचनले सुदूरपश्चिम प्रदेश सरकार स्थिर हुने सम्भावना बढेर गएको र पूर्वमा एकल जातीय पहिचानको अर्थहीन बहस र विवाद अन्त्य हुने अवस्था आएको बताए।

उपमहासचिव रिमालले एमाले वर्तमान सत्ता समीकरणलाई पूरै कार्यकाल कामयै राखेर अघि बढ्न लागिपर्ने बताए।