यो साता ८ अर्बले घट्यो शेयर कारोबार रकम, लगानीकर्ताको २० अर्बबढी डुब्यो !

काठमाडौँ - यो साता नेप्से परिसूचकसँगै बजारका महत्त्वपूर्ण सूचकहरू गत साताको तुलनामा घटेका छन् । यो साता धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा शून्य दशमलव ६३ प्रतिशत अर्थात् १२ दशमलव ९३ अंकले घटेको छ । 

यो साता एक दिन सार्वजनिक बिदा परेकाले चार दिन मात्र बजार खुला भएको थियो । चार कारोबार दिनमा पहिलो कारोबार दिन १७ दशमलव शून्य १ अंक घटेको बजार दोस्रो दिन १० दशमलव १४ अंक बढेको थियो । त्यस्तै तेस्रो दिन १० दशमलव ८३ अंकले घटेको बजार चौथो दिन ४ दशमलव ७८ अंकले बढेर बन्द भएको छ । 

गत साताको अन्तिम कारोबार दिन २ हजार ४८ दशमलव ५७ अंकमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ३५ दशमलव ६४ विन्दुमा बन्द भएको हो ।

ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स अघिल्लो साताभन्दा १ दशमलव ७३ प्रतिशत घटेर ३५९ दशमलव शून्य ९ विन्दुमा झरेको छ ।


अन्योलबीच यो साता चार कारोबार दिनमा ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँभन्दा बढीको २ करोड ६५ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबारमा लगानीकर्ता सहभागी भएका छन् । गत साता भने पाँच कारोबार दिनमा १७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको ५ करोड ३३ लाख ४२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ७ अर्ब ९८ करोड ४५ लाख रुपैयाँभन्दा बढीले र कारोबार कित्ता २ करोड ६७ लाख ७७ हजारभन्दा बढीले घटेको छ ।