तीजमा भड्किलो र खर्चिलो कार्यक्रम गरे कारबाही गर्ने काठमाडौँ  प्रशासनको चेतावनी  

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीज पर्व भड्किलो ढंगले नमनाउन अपिल गर्दै अनावश्यक तडकभडक र खर्चिलो कार्यक्रम गरे वा गराए कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बिहीबार सूचना जारी गर्दै सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ को ख्याल गर्न भनेको छ ।

कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरुको आयोजना गरे र गराएमा त्यस्ता गतिविधिहरुको निगरानी गरी कानून बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा सबैमा जानकारी गराइएको छ’, सूचनामा छ ।

विगतको तुलनामा हालका वर्षहरुमा तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यकमहरु बढ्दै गएको प्रशासनको ठहर छ ।

सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ ।

तसर्थ आफ्नो परम्परा एवम् सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला एवम् भड्किलो कार्यक्रम सञ्चालन नगर्नुरनगराउनु हुन हार्दिक अनुरोध छ’ सूचनामा भनिएको छ ।

पर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु सबैको कर्तव्य भएको भनिएको छ ।