आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

 काठमाडौँ - असार शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । यस एकादशीका दिन घरघरमा तुलसीको विरुवा सारी चार महिनासम्म विशेष पूजा सुरु गरिन्छ ।

एक महिनाअघि जेठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मोठमा राखिएको दलको विरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीक मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।


असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षिंरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएका हो । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस एकादशीमा नेपाल, भारत लगायतका मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीले व्रत राख्नुका साथै एक पर्वको रूपमा मनाउने गर्दछन् ।

पुराणका मतानुशार भगवान विष्णु यस दिन देखि चार महिनासम्म चतुर्मास पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ’देवशयनी’ तथा कार्तिक शुक्ल एकादशीलाई ’प्रबोधिनी’ एकादशी भनिन्छ ।