'हतार र राजनीतिक दबाबका बिचमा आएको बजेट सन्तुलित छ' : अर्थमन्त्री पुन

काठमाडौँ - अर्थमन्त्री बर्षमान पुनले सरकारले ल्याएको बजेट सन्तुलित आएको प्रतिक्रिया प्राप्त भएको उल्लेख गरेका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पुनले आर्थिक शिथिलताको अवस्थाबाट जनतामा आशा जगाउने किसिमको बजेट आएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘हामी निकै दबाबमा थियौं । चालु आर्थिक वर्षको बजेटको प्रक्षेपण सबै मिलिरहेका थिएनन् छैनन् । तर हामीले यसपालि जनता, व्यवसायी, निजी क्षेत्रलाई आशा जगाउने बजेट ल्याएका छौं । सरकारको तर्फबाट गर्न सक्ने सहजीकरण गरिरहेका छौं ।’

उनले नयाँ चरणको आर्थिक सुधारको आवश्यकता भएकाले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्न लागिएको बताए । आफ्नो भूगोल सुनाउने अर्थ नीति, क्षमता अनुसारको जनशक्ति कस्ता उत्पादन हुँदैछ भनेर अध्ययन गरेर अगाडि बढ्ने समेत बताए । विज्ञान प्रविधिको प्रयोग, यस अगाडि सीमा र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भनेर आयोगबाट प्रतिवेदनमा प्राप्त हुने विश्वास व्यक्त गरे । उनले अर्थतन्त्रको सरचना सुधार गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।