सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम, प्रतितोला एक लाख ३० हजार रूपैयाँमा  कारोबार  !

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार)  पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।  

आज सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा दुई हजार एक सय रूपैयाँ बढी हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय २५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।