स्वास्थ्य क्षेत्र सुधारका लागि बजेट वृद्धि गर्नुपर्छ : मन्त्री यादव

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रको गुणात्मक सुधारका लागि स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गर्नुको विकल्प नरहेको बताएका छन्।

शुक्रबार जनकपुरधाम स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित प्रादेशिक अस्पताल जनकपुरधामको परिसरमा अमेरिका सरकारको लगानीमा निर्माण भएको सुविधासम्पन्न बर्थिङ्ग सेन्टरको उद्घाटन गर्दै उनले यस्तो बताए।

अहिले स्वास्थ्य क्षेत्रमा पहिलेभन्दा सुधार भएपनि अझै धेरै सुधारको आवश्यकता रहेको भन्दै उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न जिल्लाहरुमा पूर्वाधार निर्माणमा अमेरिका सरकारको योगदानको सराहना गरे।

उनले नव निर्मित बर्थिङ्ग सेन्टरले अत्याधिक प्रसुति सेवा प्रदान गर्ने प्रादेशिक अस्पताल जनकपुरधामको प्रसुति सेवाको गुणस्तरमा सुधार आउने आशा व्यक्त गरे।

अमेरिका सरकारको १४ करोडको लगानीमा करिब साढे ५ वर्षपछि ७५ शैयाको सुविधासम्पन्न बर्थिङ्ग सेन्टरको निर्माण भएर उद्घाटन भएको हो। वर्थिङ्गका लागि आवश्यक सबै प्रकारको सुविधाहरु दुई तले भवनमा रहेको छ।