पँधेरोमा नुहाउन गएकी युवतीको हत्या आरोपमा एक जना पक्राउ

काठमाडौँ । पँधेरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा पाल्पामा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी पद्‍मा सुनारको हत्या अभियोगमा प्रहरीले स्थानीय सागर भनिने देवलाल सार्की रहेको प्रहरीले जनाएको छ ।

१३ चैतमा देवलालले धारिलो हतियारको प्रयोग गरी पद्माको हत्या गरेको प्रहरीको भनाइ छ । उनीहरूबीच सामान्य विवाद भएको थियो।

विवादपछि डोकोमा धोएका कपडा बोकेर घर फर्किँदै गरेकी पद्‍मालाई पछाडिबाट धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घरभन्दा केही पर खुलखुले गैरामा उनले आक्रमण गरेका थिए।

प्रहरीले लप्सीफेंदीस्थित देवलालको घर र गोठबाट हत्यामा प्रयोग भएको हसिया, मोवाइललगायतका सामान बरामद गरेको छ । रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका देवलाल केही महिना अघि मात्र नेपाल आएका थिए।

गत मंगलबार बिहान नुहाउन गएकी उनी अबेरसम्म  घर नफर्किएपछि परिवारले खोजी गरेका थिए। खोजी गर्ने क्रममा घरभन्दा केही टाढा रहेको गोरेटो बाटोमा उनले बोकेको डोको, बाटा, बाल्टिन र कपडा फेला परेको थियो। बाटोभन्दा तल खरबारीमा उनको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो ।