बूढीगण्डकीको काम अघि बढाउन सरकारलाई बाबुरामको भदौंसम्मको ‘अल्टिमेटम’

काठमाडौँ - पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बूढीगण्डकी जलाशययुक्त आयोजनाको प्रभावित क्षेत्रको विकासका लागि बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण तत्काल गठन गर्न माग गरेका छन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर भट्टराईले तीन बुँदे माग राखेर बूढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनाबारे ज्ञापनपत्र बुझाएका हुन् । ‘अहिलेको विद्युत प्राधिकरणअन्तर्गत सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधन स्रोत सम्पन्न ‘बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण तुरुन्त गठन गरियोस्,’ भट्टराईले बुझाएको पत्रमा भनिएको छ ।

भट्टराईले दोस्रो मागको रुपमा अधिकार सम्पन्न प्राधिकरणमार्फत समग्र बूढीगण्डकी कोरिडोर विकासका कामहरू तीव्रताका साथ अघि बढाउन भनेका छन् । त्यस्तै भट्टराईले तेस्रो मागको रुपमा आयोजना प्रभावितका जायज मागलाई तत्काल सम्बोधन गर्न पनि भनेका छन् ।