हँसिया प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौँ । रौतहटमा  श्रीमानले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। वृन्दावन नगरपालिका-१ तामाङ टोलका ४० वर्षीय तीर्थ वाइवाले हँसिया प्रहार गरी आफ्नी श्रीमती ३५ वर्षीय सोती माया वाइबाको हत्या गरेको प्रहरीले जनाएको छ।

बुधबार आफ्नै बारीमा घाँस काट्ने क्रममा श्रीमानश्रीमतीबीच विवाद हुँदा तीर्थले सोतिमायाको घाँटीमा हँसिया प्रहार गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय, गरुडाका डिएसपी ओम प्रकाश खनालले जानकारी दिए।

श्रीमतीको हत्यापछि तीर्थले आँगनमा आएर आफू पनि मर्छु भन्दै आफ्नो घाँटीमा पनि हँसियाले रेटेको उनले बताए।

तीर्थलाई पक्राउ गरिएको तथा उनको अवस्था सुधारोन्मुख रहेको खनालले बताए।

तीर्थले मदिरा समेत सेवन गरेको भनी खुलेकोले घटनाको बारेमा थप अनुसन्धान जारी रहेको रौतहट प्रहरीले जानकारी दिएको छ।