गायिका रचना रिमाल सवार गाडी दुर्घटना

काठमाडौँ । गायिका रचना रिमाल चढेको गाडी दुर्घटना भएको छ । आइतबार नेपालगन्जबाट दाङको लमही महोत्सवको लागी  हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई वाग्मती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिँदा दुर्घटना भएको हो ।

रिमालको अवस्था सामान्य रहेको जनाइएको छ । दुर्घटनाका कारण आज उनी महोत्सवमा भने उपस्थित हुन सकिनन् । उनले दुर्घटनाबारे फेसबुकमार्फत जानकारी गराएकी हुन । भोलि महोत्सवमा आफ्नो प्रस्तुति रहने उनले उल्लेख गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामी सवार गाडीलाई विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दियो । गाडीमा केही क्षति पुगेको छ’ उनले लेखेकी छन्, ंयात्रुहरू हामी सबै सकुशल छौँ । साथै, आज लमही महोत्सवमा हुने भनिएको मेरो सांगीतिक प्रस्तुति भोलि रहने सबैमा जानकारी गराउँदछु । आज उपस्थित हुन नसकेकोमा क्षमा चाहन्छु ।’