आज विश्व कुष्ठरोग दिवस मनाइदै

काठमाडौं - आज विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइँदै छ।

हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ। कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो।

नेपालमा सन् २०१० मै कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेको सरकारी तथ्यांक छ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्राे ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने गर्छ। यस रोगले खास गरेर छाला र नसामा असर गर्ने चिकित्सकहरुको भनाइ छ। ​

कुष्ठरोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने र बिस्तारै मांसपेशी कमजोर बनाइदिन्छ। ​

कुष्ठरोगको समयमै उपचार हुननसके रोगीहरू अपांग हुने र ज्यान समेत जाने जोखिम हुन्छ।

कुष्ठरोगका प्रकार ?
कुष्ठरोगका चिह्न र लक्षणको आधारमा यसलाई दुई भागमा बाँड्न सकिन्छ।
१) बढी किटाणु भएको अर्थात (एमबी) कुष्ठरोग
२) कम किटाणु भएको अर्थात (पीबी) कुष्ठरोग

कुष्ठरोगको उपचार के हो ?
यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ। जसअनुसार बढी किटाणु भएका अर्थात (एमबी) कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका अर्थात (पीबी) कुष्ठरोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ।

बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ। तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन।

कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशूल्क पाइन्छ। साथै हाल नेपाल सरकारले उपचार पूरा गरेका तथा विशेष सेवाका लागि अस्पतालमा भर्ना हुँदा यातायात खर्च रु। १ हजार उपलब्ध गराएको छ।