भारतमा कारले ठक्कर दिँदा साइकलमा चढेका ४ नेपालीको मृत्यु !

काठमाडौँ - हरियाणाको सोनीपतको मामा भञ्जा चोकमा बहलगढबाट आउँदै गरेको तीव्र गतिको फोर्ड इको स्पोर्ट्स कारले साइकल र स्कुटरमा घर फर्किएका नेपालका पाँच युवालाई पछाडिबाट ठक्कर दिँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४ युवाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । कारमा सवार तीन युवक पनि गम्भीर घाइते भएका छन्। यो दुर्घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ । भिडियोमा घटना निकै भयानक देखिएको छ ।

भारतीय मिडियाले प्रहरीबाट प्राप्त गरेको जानकारी अनुसार यस दुर्घटनामा ज्यान गुमाएका युवाको सनाखत भएको छ। मृत्यु हुने युवाको नाम  खिलाबहादुर मगर अमर र   कमलबहादुर खत्री रहेका छन् । उनीहरु नेपालको ओखलढुंगाको मोलुङ गाउँपालिका ४ का  हुन्। अन्य दुइ मृतक दलबहादुर रायमाझी  अर्घाखाँची र  अर्जुन सुनुवार  सर्लाहीका हुन् । उनीहरुका एक साथी दिलबहादुर गम्भीर घाइते भएका छन् । उनी पनि ओखलढुंगाकै हुन् । कारमा सवार युवा ऋतिक, मोहित र अरुण पनि गम्भीर घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको लागि रोहतक पीजीआईमा रिफर गरिएको छ । सबैजना नेपालीहरू वेटरको काम गरेर परिवारको गुजारा चलाउने गर्दथे । घटनाको राति अबेरसम्म एउटा कार्यक्रमबाट घर फर्कदै गर्दा यो दुर्घटना भएको हो । दुर्घटना हुँदा चालकले मादक पदार्थ सेवन गरी तीव्र गतिमा गाडी चलाएका थिए ।